कोरोना संक्रमणको विपद् व्यवस्थापन : कतै हामी चुकिरहेका त छैनौं ?

कोरोना संक्रमणको विपद् व्यवस्थापन : कतै हामी चुकिरहेका त छैनौं ?

Apr 12, 2020 Social 1 minute read
कोरोना संक्रमणको विपद् व्यवस्थापन : कतै हामी चुकिरहेका त छैनौं ? image

कोरोना संक्रमणको विपद् व्यवस्थापन : कतै हामी चुकिरहेका त छैनौं ?

बलराम दुवाल

काठमाडौं, चैत्र १६ ।                   

कोरोना संक्रमणको विश्वव्यापी महामारी फैलिरहदा भूमण्लीकरणमा अभ्यस्त भएका देशहरू चर्को मारमा परिरहेका छन् । नेपाल भूमण्लीकरणको प्रारम्भिक चरणमा मात्र प्रवेश गरेको देखिन्छ । नेपालीहरू अध्ययन वा रोजगारीको नाममा विश्वका विभिन्न देशमा पुगे । हवाई यातायात मात्रै नेपालको बाह्य विश्व (भारत र चीन बाहेक) सँग अन्तरक्रिया गर्ने भौतिक साधन रहेको कारण प्रारम्भिक चरणमा कोरोना संक्रमणले नेपाललाई कम असर पारेको देखिन्छ । यसर्थ महामारीको यो समयमा कमजोर भूमण्डलीकरणको केही लाभ भने नेपालले पाउन सक्छ ।

बाह्य मुलुकसँगको बढ्दो मानवीय सम्पर्ककै कारण कोरोना भाइरस द्रूतगतिमा फैलिइरहेकोे छ । भाइरस मानव निर्मित हो वा होइन, बहसकै विषय भइरहेकोमा चैत्र ४ गते नेचर मेडिसिनमा प्रकाशित अनुसन्धान लेखले यो भाइरस कुनै प्रयोगशालामा जानीजानी नबनेको पुष्टि गरेको छ । यद्यपि भाइरसको उत्पत्तिको ठोस कारणचाहिँ अनुसन्धानकै क्रममा रहको जनाइएको छ ।

नेपालको हकमा चैत्र १६ गतेसम्म पुष्टि भएका ५ जना संक्रमित व्यक्तिहरू क्रमश दक्षिण कोरिया, फ्रान्स, साउदी अरेबिया, संयुक्त अरब इमिरेटस् र बेल्जियमबाट नेपाल आएका हुन् । पहिलो संक्रमित आफै सम्पर्कमा आएर माघ ९ गते परीक्षणबाट पुष्टि भई उपचारपछि निको भइसकेका छन् तर बाँकी ४ जना संक्रमित चैत्रको पहिलो सातामात्र विदेशबाट नेपाल फर्किएकाहरू हुन । अहिलेसम्मको अवस्था हेर्दा नेपालमा यो संक्रमण सात समुन्द्रपारिका देशहरूबाट आयातित भएको देखिन्छ । हालसम्मको नेपाल सरकारको तयारी र कार्यान्वयनको अवस्था हेर्दा कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा हामी कता चुकेका छौं ? भन्ने प्रश्न उब्जन्छ । यो लेख यसैको सेरोफेरोमा केन्द्रित हुने छ ।

अन्तर्राष्ट्रिय उडान र अन्तर्राष्ट्रिय विमानस्थल

कोरोनाले शुरूमा डिसेम्बर २०१९ मा चीनको हुपेइ प्रान्तलाई आक्रान्त गरे पनि त्यसको दुई महिनापछि फेब्रुअरी २०२० मा युरोपका देशहरू विशेषगरी इटाली, स्पेन, बेलायत, फ्रान्स, जर्मनीलगायतका देशहरूमा महामारीका रूपमा देखिएको थियो । जोन हप्किन्स विश्विद्यालयका अनुसार फागुन ६ गतेसम्म चीनबाहिर ९२५ जना संक्रमित पुष्टि भएकोमा चैत्र २ गते सो संख्या ८६,७०२ र चैत्र १५ गतेसम्ममा ५२०,२६६ पुगेको छ । यसरी माघको तेश्रो साताबाट युरोपलगायत समुन्द्रपारिका धेरै देशहरूमा महामारी फैलिइसक्दा पनि नेपालले अन्तर्राष्ट्रिय उडानमा विशेष सतर्कता र सावधानी अपनाउन सकेन । अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक स्वास्थ्य उपकरण जडान गरी प्रवेश बिन्दुमै संक्रमणको जोखिम पहिचान गर्न सकेनौं । प्रविधि नभएको बहानामा आलटाल गरिबस्यौं । सामान्य सतर्कता र जिम्मेवारी बहन गरे पनि मिल्ने क्वारेन्टाइनको बन्दोबस्त र विदेशबाट आएकाहरूको दैनिक स्वास्थ्यसँग सम्बन्धित जानकारी, सूचना संकलन गर्न नेपाल सरकारले कुनै संयन्त्र नै मिलाउन सकेन । ढिला गरी मात्र विमानस्थलमा बाह्य उडान बन्द ग¥यौं । फलतः अहिले जहाजबाट आएकाहरूबाट नै संक्रमण भएको दैनिक प्रतिवेदन आउन थालेका छन् । यो हेलचेक््रयाइँ महंगो सावित हुनेवाला छ । सम्बन्धित नागरिक उड्डयन प्राधिकरणदेखि विमानस्थल व्यवस्थापन र स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूले यसको जिम्मेवारी बहन गर्न चुकेको देखिन्छ ।

तस्विरमा लेखक

भारतसँगको खुल्ला सिमाना नियमन र कडाइ

नेपाल बाहिरी विश्वसँग धेरै घुलमिल नभए पनि छिमेकी भारतसँग निक्कै घनिष्ठतम सम्बन्ध भएको देश हो । ‘रोटी बेटी’ को सम्बन्ध भएकोले लाखौं लाख नेपालीहरू भारतमा मजदुरी, व्यापार र अध्ययनको क्रममा रहेका छन् । भारतले संक्रमणको रोकथामका क्रियाकलापलाई तीब्रता दिएपछि धेरै मजदुरी गर्ने नेपालीहरू सुरक्षा र सुनिश्चितताका लागि दैनिक हजारौंको संख्यामा सीमानाकाबाट नेपाल प्रवेश गरे । सीमानाकाको स्थिति निकै दयनिय रह्यो । सामान्य प्रहरीबाहेक चिकित्सकीय टोलीमार्फत् सम्भावित संक्रमित पहिचान गर्न फेरि पनि चुक्यौं । भारतमा दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएको हिसाबले नेपालीहरूबीच पनि संक्रमण फैलिन सक्ने त्रास देखिन थालेको छ । भारतबाट फर्केका नेपालीहरूलाई उचित क्वारेन्टाइनमा राख्न नसक्दा सम्भावित जोखिम गाउँ गाउँसम्म छिरेको अवस्था छ । यसरी असुरक्षित रूपमा नेपाल छिरेका व्यक्तिहरूको कुनै लगत राख्न सरकारले सकेन भने तिनीहरूलाई पछ्याउन पनि सकेन । चैत्र ११ गतेबाट लकडाउन शुरू गर्दा पनि सरकारले यथोचित तयारी गर्न सकेन । परीक्षणको अभावमा कुनै संक्रमित पत्ता नलागेको मात्र हो भने स्थिति भयावह हुन सक्नेछ । वास्तवमै परीक्षण भए पनि भारतबाट भित्रिएकाहरूमा कोरोना भाइरस नभेटिएमा देशको लागि निक्कै ठूलो खुसीको कुरो हुनेछ । यही कामना गरिबसौं अहिलेलाई । भारतमा लगातारको जनता कफ्र्युका कारण थुप्रै भारतीयहरू कफ्र्यु अवज्ञा गर्दै कोशौं टाढा हजारौंको भीडभाडबीच सुरक्षित गन्तव्यतर्फ गइरहका छन् । धेरै नेपालीहरू बाटोमै अलपत्र परेको अवस्थामा रहेका समाचारहरू बाहिरिन थालेको छन् । यही उचित समय हुनसक्छ भारतसँगको खुल्ला सीमानामा नियमन र कडाइ गर्ने । नेपाली नागरिकहरूको उदार गरी भरपर्दो क्वारेन्टाइनमा राखी नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गर्न अत्यावश्यक छ ।

विदेशबाट फर्किएकाहरूको स्वास्थ्य परीक्षण र सूक्ष्म निगरानी

सरकार विदेशबाट फर्किएकाहरूको स्वास्थ्यसँग सम्बन्धित लगत, उनीहरूको यात्रा विवरण, सम्पर्क गरेका व्यक्तिहरूको विवरण समयमै संकलन गर्नबाट चुक्यो । क्रमश विदेशबाट आएकाहरूमा संक्रमण पुष्टि हुन थालेपछि मात्र सबै स्थानीय तहलाई निर्देशन दिई विवरण संकलन गर्न लगायो । ढिला त भइसकेका छ तर लकडाउन समयमा युद्धस्तरमा सरकारी संयन्त्रले गर्नुपर्ने कार्य गर्न नसकेकै देखिन्छ । स्थानीय निकायपिच्छे फरक फरक फाराममार्फत् विवरण संकलन गरेको देखिन्छ । यस्तो प्रकोपको समयावधिमा एकीकृत निर्देशन र चुस्त प्रशासनिक कार्य हुनुपर्ने थियो तर विडम्बना नै मान्नु पर्छ, त्यस्तो हुन सकेन । भर्खरै त लगत संकलन भइराखेका कारण विदेशबाट भर्खर फर्केकाहरूको वास्तविक संक्रमण जोखिम विश्लेषण र आवश्यक व्यवस्थापन गर्न थप केही दिन आवश्यक पर्नेछ । युद्धस्तरमा गरिनुपर्ने कार्यहरू परम्परागत तरिकाले भइरहँदा संक्रमणको जोखिम थप बढ्ने सम्भावना छ । जति लगत संकलनमा आएका छन्, तिनीहरूलाई तुरून्तै सम्पर्कमा ल्याई स्वास्थ्य परीक्षण गर्नु, संक्रमणको लक्षण भेटिए तुरून्तैै नमुना परीक्षण र उचित क्वारेन्टाइनमा राखी सूक्ष्म निगरानी राख्न संघीय र स्थानीय सरकारहरू चुक्नुहुँदैन ।

टेष्ट किट र परीक्षण

शुरूमा शंकास्पदहरूको नमुना परीक्षणका लागि विदेशमै पठाउनुपथ्र्यो । पछि नेपालमा परीक्षणको थालनी त भयो तर साह्रै सीमित मात्रामा भयो । लकडाउनको ५ दिनसम्मा जम्मा ८ सय ७५ नमुना परीक्षण सम्पन्न भयो जसबाट हरेक दिन एक जना नयाँ संक्रमित फेला पर्दै गएको छ । व्यापकमात्रामा परीक्षण गर्ने हो भने यो संख्या निक्कै बढ्ने पो हो कि भन्ने डर र आशंका व्यापक रूपमा फैलिएको छ । संक्रमितहरूले सम्पर्क गरेका सबैलाई तुरून्तै क्वारेन्टाइनमा राखी नमुना परीक्षण शीघ्रातिशीघ्र गरिनुपर्नेमा सुस्तता देखिरहेको छ । यसले भाइरसको संक्रमण फैलिन यथेष्ट समय पाउने निश्चित छ । समयमै टेष्ट किट र नमुना परीक्षणको वन्दोबस्त हुन नसक्दाको दुष्परिणाम भोग्न नपरे हुन्थ्यो । चीन, दक्षिण कोरिया र भियतनाम जस्ता देशहरूबाट सिक्नुपर्ने पाठ सिकेको देखिएन ।

हामी जति जुन क्षेत्रमा चुकिरहेका छौं, त्यसले त्यति नै जोखिम बढाइरहेको छ । यद्यपि नेपाल कोरोना संक्रमणको अहिले पनि प्रारम्भिक चरणमै रहेकोले केन्द्रदेखि स्थानीय सरकारले एकीकृत पहल गरी सामुदाय तहसम्म विपत व्यवस्थापनको रणनीति, तयारी र अभ्यास थाल्न ढिलाई नगरौं । संकट गहिरिंदै जाँदा प्रहरी प्रशासन, विद्यमान सरकारी संरचना र सीमित श्रोत साधन अपुग हुनजानेछ । तसर्थ जनस्तरमै प्रकोप सामना गर्न सकिने ढंगले तयारीलाई तीब्रता दिन आवश्यक देखिन्छ ।

 

Published in http://nawakantipur.com/archives/87487 on March 29,2020