-बलराम दुवाल

कोभिड–१९ को महामारीले नेपाली जनता अहिले घरबन्दीको अवस्थामा छ । फलतः कुनै पनि शिक्षालयहरू अहिले पूर्ववत सञ्‍चालनमा ल्याउन सकिने अवस्थामा छैनन् । महामारी नियन्त्रणको तहमा आए पनि शिक्षालयहरू सबैभन्दा पछिल्लो चरणमा मात्र खुल्ने चर्चा छ ।

विश्वविद्यालयहरू शिक्षणको वैकल्पिक माध्यमको खोजी र प्रयोगमा जुटिरहेका छन् । निजी विद्यालयहरूले अनलाइन माध्यमबाट विद्यार्थीहरूसँग सम्पर्क जीवित राख्दै कक्षाहरू सुरु गर्न थालिसकेका छन् ।

महामारीको समयावधि कति लम्बिन्छ, अनुमान लगाउन गार्‍हो छ । एसईई परीक्षा स्थगन गर्ने चैत ५ गतेको निर्णयबाट नेपालको शिक्षा क्षेत्रमा महामारीको प्रत्यक्ष प्रभाव देखिएको थियो । चैत ६ गते त्रिविद्वारा सञ्‍चालित परीक्षासमेत अनिश्चितकालको लागि स्थगन गरियो । विश्वव्यापीरूपमा भाइरसको प्रकोप द्रुतगतिमा बढेको र विश्व स्वास्थ्य सङ्गठनले पनि अति जोखिमयुक्त देशको सूचीमा नेपाललाई राखेपछि सरकारले घरबन्दी वा लकडाउनको निर्णय गर्‍यो । यो  निर्णयपछि त्रिविले हाललाई गर्मी बिदामा समाहित गर्ने गरी सबै क्याम्पस र विभागहरू बन्द गर्ने निर्णय गर्यो ।

अनलाइन कक्षा सञ्‍चालन गर्ने त्रिविको निर्णय

सरकारले लकडाउनको समयसीमा थप्दै गएपछि अब विश्वविद्यालयहरू कहिले खुल्ने, रोकिएका परीक्षाहरू कहिले सञ्‍चालन हुने आदि विषयमा अनिश्चितता स्वाभाविकरूपले बढेको छ । नेपालमा उच्च शिक्षाको अगुवाको रूपमा रहेको त्रिविले अहिले पनि ८० प्रतिशत उच्च शिक्षाको भार व्यहोरिरहेको छ । देशैभरि सञ्‍जाल भएको एउटै मात्र विश्वविद्यालय त्रिविको लागि लामो समय पठनपाठन बन्द रहनु चुनौती थपिनु हो । कतिपय त्रिविका विभाग र क्याम्पसहरूले स्वतःस्फूर्तरूपमा आफ्नो कक्षा सञ्‍चालन गरेको खबरले समाचारपत्र र अनलाइन पत्रिकाका भित्ताहरूमा राम्रै स्थान पाए । यस्तो परिस्थितिमा त्रिविले वैशाख ८ गते अनलाइन कक्षा सञ्‍चालनप्रति लक्षित गरी सूचना सार्वजनिक गर्यो। लगत्तै वैशाख १२ गते विद्युत्तीय माध्यम (अनलाइन) बाट गरिने कक्षा सञ्‍चालनसम्बन्धी निर्देशिका तयारी भएको परिपत्र र सूचना जारी गर्यो ।

कतिपयले यो निर्णयलाई ढिलै भए पनि स्वागतयोग्य माने । केही विद्यार्थीहरूले विश्वका अन्य विकसित देशका विश्वविद्यालयहरू कोरोनाविरुद्धको खोपको अन्वेषणमा लागेको समयमा नेपालमा त्रिवि अनलाइन कक्षा सञ्‍चालनको लागि कुन माध्यम, कुन सफ्टवेयर प्रयोग गर्ने खोजीमा लाग्दै छ भनेर खिस्सि नउडाएको पनि होइन । प्राध्यापक, विद्वानहरूले पनि ‘पिठो न तेल, पका बुढी सेल’ भन्दै त्रिविका शिक्षक, प्राध्यापकहरूको प्राविधिक सीप र त्रिविको पूर्वाधारमाथि व्यङ्ग्य गरेका पनि थिए । विद्यार्थीहरू पनि यो समयमा सब आ–आफ्नो गाउँघर फर्केको र धेरै जना उच्च गतिका इन्टरनेटको पहुँचमा नभएको, कतिपयसँग इन्टरनेटको पहुँच नै नभएको,  अनलाइन कक्षाका लागि चाहिने कम्प्युटरको अभाव भएको लगायत प्राविधिक समस्याको कारण यस्तो कक्षा सञ्‍चालन गर्न नसकिने र नहुने आवाज पनि उठेको सुनियो ।

“अभाव नै आविष्कारको जननी”

यो भनाइ हामीमध्ये धेरैजनाले वक्तृत्वकलामा धाराप्रवाह बोलेका हौंला । अहिले हामीसामु कोभिड–१९ को महामारी छ । त्यसै कारण शिक्षा आर्जनबाट हामी वञ्चित हुनुपरेको अवस्थामा छ । हुन त नेपालमा यो भाइरसको कारण कसैको ज्यान गएको छैन । कोही शिक्षक, विद्यार्थीले आँसु झर्न परेको छैन । विकराल समस्या र विपत्तिको सामना हामी नेपाली शिक्षक र विद्यार्थीहरूले गर्न परेको छैन । यसलाई सुखद् क्षणकैरूपमा लिनुपर्छ ।

युरोप, अमेरिकालगायत देशका शिक्षक, विद्यार्थीहरूले आफ्ना परिवारका सदस्य, सहपाठी, शिक्षक, आफन्त गुमाउनु परेको छ । यसर्थ हामी यो घरबन्दीको अवस्थामा तुलनात्मकरूपले फुर्सदिला छौँ । घरभित्रै बसेर हामी अध्ययन, अध्यापनमा संलग्न हुन सकिने अनुकूल वातावरण आजको दिनसम्म हामीलाई उपलब्ध छ । के यस परिस्थितिमा भौतिक कक्षाकोठामा सहभागी हुन नसके पनि वैकल्पिक माध्यमबाट शिक्षण कार्यलाई अगाडि बढाउन सकिन्न ? वैकल्पिक शिक्षण विधिका उपायहरू महामारीकै चुनौतीका बीच अवसरको रूपमा किन उपयोग नगर्ने ? यो समस्या वा अभावलाई वैकल्पिक शिक्षण सिकाइ वा दूर शिक्षाका विविध नवीनतम प्रविधिलाई आम विद्यार्थीमाझ प्रयोग गर्ने विधिको आविष्कारको जननी किन नबनाउने नेपालको सन्दर्भमा ?

त्रिविको पूर्वाधार र पद्धति

हो, त्रिवि पूर्वाधारमा पछि परेको छ । अन्वेषण, अनुसन्धानमा निकै कमजोर छ । कसले यस्तो बनायो त ? शिक्षक, विद्यार्थी र हामीले चुनेका नेताहरू नै यसको निम्ति जिम्मेवार छन् । शिक्षालयमा भागबन्डाको संस्कृतिमा रम्ने, रमाउन दिने हामी ३ पक्ष नै त हौं । फलतः ६० वर्ष कटेको यो विश्वविद्यालय संसारको उत्कृष्ट एक हजारको सूचीमा बल्ल सूचिकृत हुनसक्यो । ‘छोरा के हेर्नु, छोराको साथी हेर्नु’ भन्ने उखान चलेको यो देशमा शिक्षामात्र होइन, सबै क्षेत्रकै हालत उस्तै छ केही अपवाद छोडेर । हामी आर्थिकरूपमा विश्वका १०० वटा मुलुकको पछाडि छौँ । आर्थिक र भौतिकरूपमा सम्पन्न नभएको हाम्रो देशमा शिक्षा क्षेत्रमात्रै गर्व गर्नलायक उच्च स्थानमा पुग्न नसक्ला । भनिन्छ, रोम एकै दिन बनेको थिएन । आज सुरु नगरे कहिले गर्ने ? जनस्वास्थ्य सङ्कटकालमा निर्जीव भएर बस्ने वा भएका स्रोत–साधनको खोजीनीति गरी सिक्ने, सिकाउने कर्ममा जोडिएर ज्ञान, सीप बाँडेर सिर्जनशील पथमा हिँड्ने ? यी प्रश्न शिक्षक, प्राध्यापकहरूले आफैँसित सोध्नु उपयुक्त होला ।

विदेशका सम्पन्न विश्वविद्यालयमा मात्र होइन, नेपालकै निजी विश्वविद्यालयहरूमा पनि विद्यार्थी भर्ना हुनेबित्तिकै अलग संस्थागत ईमेल र पासवर्ड दिइन्छ । हरेक चीज डिजिटल भएका उदाहरण नेपालमै पाइन्छ । निर्वाचनका लागि फर्जि भर्ना गराउन बाध्य पारिने त्रिविमा निर्धारित समयमा भर्ना बन्द नगर्न दबाब दिने हाम्रै शासक राजनीतिक दलका भ्रातृ सङ्गठन नै हुन् । कुनै अदृश्य शत्रु होइन । संस्थागत अभ्यासलाई दौडिन त के घस्रिन पनि नदिने हाम्रै प्राध्यापक सङ्‍घ र विद्यार्थी सङ्गठनहरू नै हुन् । विश्वविद्यालयलाई राजनीतिक भागबन्डामा पारी रणनीतिकरूपमा विश्वविद्यालयलाई भुत्ते पार्ने हाम्रै शासक राजनैतिक दलहरू हुन् । यस्तो कुसंस्कारमा रहेको त्रिविमा नविनतम सुधार गर्नु सामान्य विषय हुनसक्दैन । तसर्थ घरबन्दीले मौका दिएको छ, सबैलाई मिल्न भनेको छ (मिलेको पनि देखिन्छ), शिक्षण सिकाइका नयाँ मार्ग खोज्न भनेको छ । यस्ता प्रविधिको प्रयोगले विश्वविद्यालयको छवि सुधार्न सहयोग मिल्नेछ ।

त्रिविका कतिपय विभाग, क्याम्पसका हकमा आफ्नो वेवसाइटसमेत सञ्‍चालन गर्न कठिनाइ छ । सूचना प्रविधिमा विज्ञ जनशक्ति त खासै छैन भन्दा पनि हुन्छ । यस सन्दर्भमा डिजिटल तथ्याङ्क व्यवस्थापन, अभौतिक कक्षा सञ्‍चालनका सफ्टवेयर सञ्‍चालन, सोको लगत व्यवस्थापनलगायतका कार्य गर्ने कर्मचारीहरूको बन्दोबस्त ठूलो चुनौतीका रूपमा रहनेछ । समर्पित शिक्षक, प्राध्यापक र कर्मचारीहरूको माग बढ्नेछ । मागमात्र होइन यिनीहरूको मूल्य पनि बढाइनुपर्छ । सिर्जनशील र समर्पित शिक्षक, कर्मचारीहरूको मूल्याङ्कन गर्नसक्ने मूल्याङ्कन पद्धतिको समेत अहिलेको समयले माग गरेको छ । नत्र अभौतिक (अनलाइन) कक्षा सञ्‍चालन क्षणिक रमाइलोमा सीमित हुने जोखिम छ ।

त्रिविको दूरशिक्षा कार्यक्रम, शिक्षाशास्त्र सङ्कायका कतिपय कक्षाहरू पहिलेदेखि खुला सिकाइको रूपमा भौतिक कक्षाकोठा बाहिरका शिक्षा कार्यक्रमहरू हुन् । त्रिविलाई महामारीकै बहानामा प्रविधिमैत्री बनाउने यो उपयुक्त समय हो । अल्पकालीनदेखि दीर्घकालीनसम्मका रणनीति तर्जुमा गरी त्रिवि अगाडि नबढी सुखै छैन ।

पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन

शिक्षण सिकाइमा पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कनको समुचित संयोजन गरिएको हुन्छ । त्रिविका विशेष कार्यक्रमबाहेक अधिकांश कार्यक्रमहरूमा कक्षाकोठाबाहिरको शिक्षणको परिकल्पना गरिएको छैन । तसर्थ त्रिविले यो समयमा पाठ्यक्रम र मूल्याङ्कन विधिलाई परिमार्जन गर्ने केही सुइको दिएको छैन । देशभरिको सञ्जाल, करिब ९ लाखको सङ्ख्यामा विद्यार्थी भार भएको विश्वविद्यालयका यी ३ क्षेत्रमा तत्काल परिमार्जन गर्न सम्भव नहोला । तसर्थ ‘केही नगर्नुभन्दा थोरै गर्नु राम्रो’, ‘नहुनुभन्दा …मामा जाती’  । सही शिक्षण विधिमा केही वैकल्पिक व्यवस्था त्रिविले अहिले गरेको छ । शिक्षक, विद्यार्थीहरू घरमै बसेर पाठ्यपुस्तकको चर्चा, परिचर्चा गर्न सकिने अभौतिक कक्षा वा अनलाइन कक्षाको सञ्‍चालन र सोको वैधताको निर्णय गरिएको छ । सो कक्षाको लगत राख्न निर्देशिकामा भनिएको छ । पारिश्रमिक दिन सकिने बन्दोबस्त छ । यसले प्रविधि अमैत्रीहरूलाई असजिलो बनाएको छ । हरेक चुनौतीले सबैलाई अवसर नदेला । प्राध्यापक, विद्यार्थीहरूले आफूलाई अद्यावधिक गर्ने मौकाको रूपमा लिऔँ । नवीनतम प्रविधिको प्रयोग र वैकल्पिक शिक्षण अभ्यासको सीप र ज्ञान सामान्य समयावधिमा पनि उत्तिकै सान्दर्भिक हुनेछ । तसर्थ हामी प्राध्यापकहरूले पनि सिकौँ, विद्यार्थीहरू त सिकारू हुन् । सिक्दा उनीहरूको भविष्यको करियरमा पनि राम्रै टेवा पुग्नेछ ।

त्रिविका कतिपय कार्यक्रमहरू अहिले विशेषीकृत प्रकृतिका व्ययभार आफै व्यहोर्ने खालका छन् । साथै कतिपय कार्यक्रमहरू स्वायत्त प्रकृतिका छन् । यस्ता कार्यक्रमहरू नगन्य विद्यार्थीमाझ केही सीमित विभाग वा क्याम्पसमा मात्र सञ्‍चालनमा रहने भएकोले आवश्यकता र परिस्थितिअनुसार पाठ्यक्रम र मूल्याङ्कन परिवर्तन गर्न सकिने खालका पनि नभएका होइनन् । त्यस्ता कार्यक्रमको लागि अनलाइन कक्षा नै पूर्णतः नियमित कक्षाको रूपमा र यसैका आधारमा मूल्याङ्कनसमेत गर्न सकिनेछ, यदि लकडाउन समय लम्बिन गएमा ।

वैकल्पिक शिक्षण विधिको पूर्वतयारी

वैकल्पिक शिक्षण विधि प्रयोग गरिरहँदा शिक्षक, प्राध्यापक, कर्मचारीहरूलाई प्रशिक्षित गरिनु आवश्यक छ । यद्यपि सबैले आफ्नो लागि चाहिने सीप खोजीनीति गरी सिक्न पनि नसकिने होइन । हालैमात्र त्रिविका केही प्राध्यापकहरूको संयोजनमा स्वयम्सेवक प्राध्यापकहरूमार्फत् अध्यापकहरू कक्षाकोठा र विद्यार्थीहरूबाट टाढिनुपरेको अवस्थामा तयारी गर्न भनी वैशाख ७ देखि १३ गतेसम्म अनलाइन कक्षा सञ्‍चालनका विविध आयाममाथि तालिम सञ्‍चालन भयो । करिब ५०० सहभागीहरूले वैकल्पिक शिक्षण विधिसम्बन्धी अभिमुखीकरण भएको र आत्मविश्वास बढेको महसुस गरेका छन् । यो एक किसिमको तयारी भयो, यसबाहेक त्रिविले धेरै सङ्ख्यामा अध्यापकहरू समेटिने गरी थप तालिम कार्यक्रमको संयोजन गर्नसके त्रिविले भनेबमोजिमको वैकल्पिक शिक्षण विधिमार्फत् कक्षा सञ्‍चालन गर्ने निर्देशन प्रभावकारी हुनेछ ।

ठूलो सङ्ख्यामा द्रुतगतिको इन्टरनेटको पहुँच बाहिर रहेका विद्यार्थीहरू

जब त्रिविले निर्देशिकामा यो कक्षालाई औपचारिक कक्षाको रूपमा मान्यता दिने कुरो बाहिरियो, विद्यार्थीहरू धेरै सशङ्कित भए । इन्टरनेटको पहुँच बाहिर रहेका ठूलो सङ्ख्यामा विद्यार्थीहरू शिक्षकहरूको अनुहार देख्न नपाउँदै परीक्षामा सामेल हुनुपर्ने हो कि ? त्रिविका अधिकांश कार्यक्रम अनलाइन शिक्षण विधिमा तयार नभएको कारण अब चल्ने भनिएको अनलाइन कक्षाकै भरमा परीक्षामा सामेल हुने वातावरण ल्याइनुहुन्न । अनलाइन कक्षामा समाहित हुन नसकेका विद्यार्थीहरू कलेजको भौतिक सम्पर्कमा बस्न सकिने अवस्था आएपछि मात्रै मूल्याङ्कनसम्बन्धी निर्णय गर्दा उपयुक्त हुनेछ । ती विद्यार्थीहरूका लागि उपचार कक्षा वा अन्य कक्षाको बन्दोबस्त क्याम्पसले गर्नुपर्ने हुनसक्छ । तसर्थ अहिले चल्ने भनिएको अनलाइन कक्षालाई राहत कक्षाको रूपमा बुझ्दा हाललाई उपयुक्त होला ! राहत पुग्दो मात्रामा दिन सके त राम्रो नै हुनेछ ।

धेरै विद्यार्थीहरू महँगो डाटा प्याकमा अनलाइन कक्षामा बस्न नसकिने कुरो जायज छ । यसका लागि त्रिविले विद्यार्थीहरूलाई गरेको अनुरोधमै उल्लेख छ– आवश्यकताअनुसार कलेजको शिक्षण शुल्कमा समायोजन गर्ने । साथै दूरसञ्‍चार प्रदायक कम्पनीहरूसँगको सहकार्य र सरकारको पहल (लागत) मा सिकाइका लागि आवश्यक प्रोग्राम चलाउँदा भारिमात्रामा शुल्क छुट वा निःशुल्क गर्ने उपाय पनि अवलम्बन गर्न सकिन्छ ।

केही थप फाइदाहरू

लामो समय एक्लिएर बस्दा शिक्षक, विद्यार्थीहरूमा विभिन्न खालका मनोवैज्ञानिक समस्या देखिने केही कलेजहरूको अध्ययनले देखाएको छ । तसर्थ यस्ता खालका वैकल्पिक शिक्षण विधिले मनोवैज्ञानिक समस्यालाई कम गर्न  वा आवश्यक परामर्श दिन सहयोग मिल्नेछ ।

विद्यार्थीहरू आर्थिक अभाव, स्वास्थ्य समस्या र खाद्यान्न अभावमा बसिरहेका छन् वा छैनन् भन्ने थाहा पाउन पनि यस्ता कक्षाहरू प्रभावकारी हुनसक्छ । तसर्थ शिक्षक, विद्यार्थी र प्रशासनबीचको जीवन्त सम्बन्ध र आवश्यक पर्दा सहयोग उपलब्ध गराउन सकिने वातावरणले सबै पक्षकै हित हुने देखिन्छ ।

अन्त्यमा,

अनिश्चितताको समयावधि कति लम्बिने निश्चित नभएको अवस्थामा विकल्पविहीन भएर विश्वविद्यालय निरीह बनिरहनु राम्रो होइन । अल्पकालमा आपत्कालीन व्यवस्थापनमा त्रिविका सबै अङ्ग उत्तिकै जिम्मेवार भएर त्रिविको गुणस्तर वृद्घिमा समर्पित भएर लाग्न आवश्यक छ । यो समस्या लम्बिएमा रुपान्तरण व्यवस्थापनसम्मको रणनीति आवश्यक हुनसक्छ । सङ्कटको यस घडीमा हामी हाम्रो प्रणालीलाई परिवर्तन व्यवस्थापनमा निपुण बनाउने सही मौका आएको छ । यसलाई उपयोग गर्नु नै अहिलेको आवश्यकता हो । हजार माइलको यात्रा एकै पाइलाबाट सुरु हुन्छ, त्रिविको शैक्षिक गुणस्तर उन्नयनमा एक–एक पाइला काँडा पन्छाउँदै जानु आवश्यक छ ।

(त्रिविका उपप्राध्यापक दुवाल वित्तशास्त्रमा विद्यावारिधि हुनुहुन्छ ।)

२०७७ बैशाष १५ गते मजदुर दैनिक